एजेन्सी । स्पेनिस स्ट्राइकर फर्नान्डो टोरेस जापानको शीर्ष डिभिजनको क्लबमा अनुबन्धित भएका छन् ।
स्पेनिस क्लब एथ्लेटिको मड्रिडका फरवार्ड टोरेस जापानको जे लिग क्लब सगन टोसुसंग आबद्द भएका हुन् । बाल्यकालको क्लब एथ्लेटिको छाड्दै टोरेसले मंगलबार क्लबसंग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । तर, सम्झौताबारे केहि खुलाईएको छैन् ।
लिभरपुल र चेल्सीका पुर्व फरवार्ड समेत रहेका टोरेसले ९ नम्बरको जर्सी लगाउने छन् । सम्झौतापछि बोल्दै टोरेसले युरोपियन क्लबबाट अफर आएको भएपनि आफुलाई नयाँ ठाउमा चुनौती लिन जापानिज क्लबमा आबद्द भएको बताए ।
३४ बर्षीय टोरेसले भनेका छन्, 'मलाई फ्रान्स, जर्मनी र स्पेनबाट अफर आएको थियो । तर, म नयाँ ठाउमा नयाँ चुनौतीको सामना गर्न चाहन्छु ।'
सन् २०१६ मा एथ्लेटिको मड्रिड फर्किएका टोरेसको क्लबसँगको अनुबन्धन सम्झौता सिजनको अन्त्यसंगै सकिएको थियो । एथ्लेटिको बाटै फुटबल करियर सुरु गरेका टोरेसले सन् २००१ देखी २००७ सम्म एथ्लेटिकोमा खेलेका थिए ।
सन् २००७ देखी २०११ सम्म टोरेसले इन्ग्लिश क्लब लिभरपुलबाट खेलेका थिए । लिभरपुलमा चार बर्ष बिताएपछि टोरेस अर्को इन्ग्लिश क्लब चेल्सीमा आबद्द भएका थिए । ८ बर्ष इन्ग्लिश क्लबबाट खेलेका टोरेसले ३१४ खेलमा १२६ गोल गरेका थिए ।
सन् २०१५ मा चेल्सीबाट लोनमा इटालियन क्लब एसी मिलन गएका टोरेस मिलानमा एक सिजन खेल्दै सन् २०१६ मा पुनः बाल्यकालको क्लब एथ्लेटिको मड्रिड फर्किएका थिए ।
स्पेनले सन् २०१० को विश्वकप फुटबलको उपाधि जित्दा टोरेस महत्वपूर्ण सदस्य रहेका थिए । स्पेनबाट ११० खेल खेलेका टोरेसले ३८ गोल गरेका छन् ।
