काठमाडौं । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेल नेदरल्याण्डसंग खेल्ने भएको छ । नेपालले एकदिवसीय क्रिकेटको डेब्यु खेल आगामी अगस्टमा नेदरल्याण्डसंग उसैको भूमिमा खेल्ने भएको हो ।
क्रिकेट वेबसाइट क्रिकइन्फोले जनाए अनुसार नेपालले अगस्ट १ र ३ मा घरेलु टोलीविरुद्ध दुई एकदिवसीय खेल खेल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले पहिलो खेल खेल्न लागेको हो । नेदरल्याण्डले भने यसअघि नै एकदिवसीय खेल खेलिसकेका छन् ।
'यो सिरिज दुवै राष्ट्रको लागि शानदार हुनेछ । हाम्रो लागि सन् २०१४ पछि पहिलो एकदिवसीय हुनेछ । नेपालको लागि त पहिलो एकदिवसीय हो,' नेदरल्याण्डका प्रशिक्षक रायन क्याम्पबेलले भनेका छन्, 'यो खेलले हाम्रा युवा खेलाडीलाई उच्च श्रेणीको क्रिकेट खेल्ने अवसर हो । र, उनीहरुको विकासको लागि उत्साहित छु ।'
नेपालले गत मार्चमा सम्पन्न विश्वकप छनोटमा आठौं स्थान हात पार्दै आइसीसीबाट एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो । र, आइसीसीले नेपाललाई गत जुन १ बाट औपचारिक रुपमा एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो ।
एकदिवसीय क्रिकेटमा डेब्यु गर्नुअघि नेपालले लर्ड्समा टी-ट्वान्टी त्रिकोणात्मक सिरिज खेल्दै छ । जुलाई २९ मा हुने सिरिजमा नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच खेल हुनेछ ।
यस्तै क्रिकइन्फोले युरोप भ्रमणको क्रममा नेपालले स्कटल्याण्डसंग पनि एकदिवसीय क्रिकेट खेल्न चाहेको समचार लेखेको छ । तर, स्कटल्याण्डले बजेट अभावको कारण जनाउदै नेपालसंग खेल्न अस्वीकार गरेको जनाईएको छ ।
स्कटल्याण्डको प्रशिक्षक ग्राण्ट ब्राडबर्नले बजेट अभावकै कारण एकदिवसीय खेलको आयोजक बन्न नसक्ने बताएको क्रिकइन्फोले जनाएको छ ।