एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आयोजक इङ्ल्याण्डबिरुद्दको खेलमा भारतले भिन्न जर्सी लगाउने भएको छ । आईसीसीको नियम अनुसार हरेक टोलीको दुई फरक रंगको जर्सी अनिवार्य छ ।
'होम एण्ड अवे'को आधारमा आयोजक बाहेक अन्य राष्ट्रलाई दुई जर्सी अनिवार्य छ ।
विश्वकपको आयोजकको रुपमा इङल्याण्डले घरेलु जर्सी प्रतियोगिता अवधिभर लगाउन पाउने छ । तर अन्य सहभागी ९ राष्ट्रले 'होम र अवे'का आधारमा जर्सी लगाउनु पर्ने छ ।
दुई देशको जर्सीको रगं एउटै भए पाहुना टोलीले 'अवे' जर्सी लगाउने चलन यसअघिका थुप्रै खेलमा चल्दै आएको छ ।
इङ्ल्याण्डको यस बर्षको जर्सीको रगं निलो छ । घरेलु टोलीको जर्सी निलो रगंको हुने भएकाले अन्य राष्ट्रले ईङ्ल्याण्डविरुद्व 'अवे' जर्सी लगाउनुपर्नेछ ।
जुन ३० गते उपाधि दाबेदार आयोजक इंङ्ल्याण्ड र भारतबीच प्रतिष्पर्धा हुँदैछ ।
त्यसैले भारतलाई पहिलो पटक एकै प्रतियोगितामा दुई फरक जर्सीमा देख्न सकिने छ । सो खेलमा भारतले सुन्तला रङको जर्सी लगाउने अनुमान गरिएको छ । तर यसको पुष्टि हुन भने बाँकी छ । भारतको आधिकारिक जर्सी कम्पनी नाइकले यस बारे केही खुलाउन चाहेको छैन ।
दक्षिण अफ्रिका टोली बंगलादेशबिरुद्दको खेलमा पहेलो जर्सीमा मैदान उत्रिएको थियो । सो खेलमा बंगलादेशलाई घरेलु टोलीको रुपमा मान्यता लिदाँ दक्षिण अफ्रिकाले जर्सी परिवर्तन गरेको थियो ।