काठमाडौं । कञ्चनपुरमा जारी प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश १ र प्रदेश ३ बीचको खेल वर्षाले प्रभावित गरेको छ ।
कभर्डहल क्रिकेट मैदानमा सोमबार तय भएको प्रदेश १ र प्रदेश ३ बीचको खेल वर्षाको कारण मैदान हिलाम्मे हुँदा टस समेत नभई रद्द भएको छ । खेल रद्द भएपछि दुवै टोलीले एक एक अंक बाडेका छन् ।
योसँगै वर्षाले प्रतियोगिताको ४ खेल प्रभावित भएको छ । प्रतियोगिता अन्तर्गत नै सोमबार बिहान तय भएको एपीएफ र प्रदेश ५ बीचको खेल पनि टस नभई रद्द भएको थियो ।
महाकाली स्पोर्ट्स सोसाइटीको आयोजनामा जारी प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहेको छ । जसमा सात प्रदेश र एक विभागीय टिम एपीएफको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन् । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५/१५ हजार पाउने आयोजकले जनाएको छ ।