एजेन्सी । इंग्ल्याण्डका ओपनर जासन रोयले घरेलु मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल गुमाउने भएका छन् ।
वेष्ट इण्डिजविरुद्धको खेलमा चोट बोकेपछि रोयले अष्ट्रेलियासँगको खेल गुमाउने भएका हुन् । ह्यामिस्ट्रीङको कारण उनले अफगानिस्तान र श्रीलंकाविरुद्धको खेल समेत गुमाएका थिए ।
इंग्ल्याण्डले मंगलबार लर्ड्समा उपाधि दाबेदार अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
अष्ट्रेलियासँगको खेलअघि अभ्यासका क्रममा उनले नेटमा ब्याटिङ समेत गरेका थिए । तर, उनी मंगलबार हुने अष्ट्रेलियासँगको खेलमा मैदान उत्रन सक्ने छैनन् । भारतविरुद्ध भने उनि फिट हुने बताईएको छ ।
'हामी उनीमाथि जोखिम मोल्ने छैनौं,' इंग्ल्याण्डका प्रशिक्षक ट्रेभोर बेलिसले भनेका छन् ।
अष्ट्रेलियाविरुद्ध मैदान उत्रदा इंग्ल्याण्डलाई रोयको अभाव खड्कने छ । उपाधि दाबेदार मानिएको इंग्ल्याण्ड श्रीलंकासंगको हारपछि केहि दबाबमा रहेको छ ।
विश्वकपमा इंग्ल्याण्डले ६ खेलबाट ८ अंक जोडेको छ । प्रतियोगितामा २ हार व्यहोरेको इंग्ल्याण्ड चौथो स्थानमा रहेको छ ।