एजेन्सी । बार्सिलोनाका पुर्व प्रशिक्षक लुईस इनरिकेलाई स्पेनले राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । विश्वकपको संघारमा जुलेन लुपिटिगुईलाई बर्खास्त गरेको स्पेन फुटबल संघले अन्तरिक प्रशिक्षकमा फर्नान्डो हेरारोलाई नियुक्त गरेको थियो ।
स्पेनिस महारथी रियाल मड्रिडमा जाने सम्झौता सार्वजनीक भए लगत्तै लुपिटिगुईलाई फुटबल संघले तत्कालै बर्खास्त गरेको थियो ।
विश्वकप फुटबलको नकआउट चरणबाटै बाहिरिएको स्पेनले बार्सिलोनाका पुर्व व्यवस्थापक इनरिकेलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो ।
इनरिकेले गतबर्ष मात्र बार्साको प्रशिक्षकबाट बाहिरिएका थिए । तीन बर्षको नाउ क्याप बसाईमा उनले बार्सालाई तीन कोपा डेल रे, दुई ला लिगा, एक च्याम्पियन्स लिग, एक फिफा क्लब वल्र्ड कप सहित धेरै उपाधि जिताएका थिए ।
बार्सिलोना अघि उनले बर्साकै बी टिम र सेल्टा डी भिगो र रोमा क्लबमा काम गरेका थिए । स्पेनिस प्रशिक्षकमा नियुक्त भएलगत्तै इनरिकेलाई अन्तराष्ट्रिय प्रतियोगितामा खस्किएको स्पेनको प्रभुत्वलाई फर्काउनु हुनेछ ।
स्पेन, सन् २०१६ को युरो कप र रुसी विश्वकपमा कमजोर प्रर्दशन गर्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।