काठमाडौं । डाक्नेश्वरी ड्रागनले दोस्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ ।
आइतबार भएको रोमान्चक फाइनलमा मेहबुब आलमको कप्तानीमा रहेको रुपनी राईडर्सलाई २ विकेटले पराजित गर्दै पुष्प थापाको कप्तानीमा रहेको डाक्नेश्वरीले उपाधि जितेको हो ।
सप्तरीको राजविराजस्थित पब्लिक विन्देश्वरी स्कुलको मैदानमा रुपनीले दिएको ११६ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले अन्तिम बलमा ८ विकेट गुमाएर पुरा गर्यो ।
डाक्नेश्वरीको जितमा ओपनर बिशाल सुश्लिंगले सर्वाधिक ३८ रन बनाए। यस्तै कप्तान पुष्प थापाले २१, अविनाश कर्णले २० तथा राहुल मण्डलले १५ रन बनाए । रुपनी राइडर्सका सैदुल्लाह अन्सारीले सर्वाधिक ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको रुपनीले २० ओभरमा ९ विकेट गुमाएर ११५ रन बनाएको थियो। उसको लागि सन्तोष कार्कीले सर्वाधिक १९, सोनु अन्सारीले १८ , मुकेश यादबले १६ तथा हसिम अन्सारी, मेहबुब आलम र अनोज यादबले समान १४ रन बनाए।
डाक्नेश्वरीका दिपेश कंडेल, पुष्प थापा र प्रेम तामाङले २/२ विकेट लिए ।
उपाधिसँगै डाक्नेश्वरीले २ लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको रुपनी राइडर्सले १ लाख रुपैयाँमा चित्त बुझायो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी डाक्नेश्वरी ड्रागन टिमका राहुल मण्डल चुनिए । उनले १५ हजार रुपैयाँ पाए।
यस्तै उत्कृष्ट ब्याट्सम्यान रुपनी राइडर्सका सोनु अन्सारी तथा उत्कृष्ट बलर डाक्नेश्वरी ड्रागनका रोबिन सिंह घोषित भए । दुबैले समान १०/१० हजार प्राप्त गरे । रुपनी राइडर्सका अनुज यादब उदयमान खेलाडी घोषित भए ।