काठमाडौं । कञ्चनपुरमा जारी प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टिम एपीएफ र गण्डकी प्रदेशबीचको खेल वर्षाले प्रभावित गरेको छ ।
कञ्चनपुरमा आइतबार तय भएको एपीएफ र गण्डकीबीचको खेल वर्षाले प्रभावित हुँदा रद्द भएको छ । खेल रद्द भएपछि दुवै टोलीले एक एक अंक बाडेका छन् ।
यो खेल रद्द भएपछि समूह 'क' मा रहेका एपीएफले २ खेलमा ३ अंक जोडेको छ । एपीएफ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । यस्तै गण्डकी प्रदेश ३ खेलमा १ अंक जोडेको छ । गण्डकी पुछारमा रहेको छ ।
महाकाली स्पोर्ट्स सोसाइटीको आयोजनामा जारी प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहेको छ । जसमा सात प्रदेश र एक विभागीय टिम एपीएफको सहभागिता रहेको छ । ८ टोलीलाई २ समूह विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन् । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५/१५ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि अनुमानित ८८ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । जसमा ३५ लाख राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उपलब्ध गराउने आयोजकले जनाएको छ ।