एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले कारबाही गरेको छ ।
इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानसँगको खेलमा आईसीसीको नियम उलंघन गरेपछि कोहली कारबाहीमा परेका हुन् । उनले आईसीसीको लेभल १ को धारा २.१ नियम उलंघन गरेको बताईएको छ ।
कोहलीले अफगानिस्तानविरुद्ध धेरै पटक आउटको अपील गरेको कारण उनलाई कारबाही गरिएको हो । शनिबार भएको खेलमा २९ ओभरमा कोहलीले अम्पाएर अलिम दर सामुनिकै आक्रोशित हुँदै एलबिडब्लुको अपील गरेका थिए । खेलपछि म्याच रेफ्री क्रिस बोर्ड र अम्पाएर प्यानलले स्वीकृत गरेको कारबाही कोहलीले स्वीकार गरेका थिए ।
कारबाहीस्वरुप कोहलीलाई म्याच फि को २५ प्रतिशत जरिवाना गरिएको छ ।
अफगानिस्तानविरुद्धको खेलमा भारतले ११ रनको रोमान्चक जित निकालेको थियो ।