काठमाडौं । प्रदेश नम्बर २ ले कंचनपुरमा जारी प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
महेन्द्रनगरमा शनिबार भएको खेलमा प्रदेश नम्बर ३ लाई ६ रनले हराउँदै प्रदेश २ ले दोस्रो जित निकालेको हो ।
प्रदेश २ ले दिएको १०७ रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले १९ ओभर ४ बलमा अलआउट हुँदै १०० रन मात्र बनाउन सक्यो । प्रदेश ३ का लागि हेलिसा लामा र कन्चन श्रेष्ठले समान २६/२६ रन जोडिन । अश्मिना कर्माचार्यले १५ रन बनाईन् ।
प्रदेश २ का लागि रोजी कडारी र कविता गौतमले २/२ विकेट हात पारिन् ।
यसअघि प्रदेश २ ले २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो । प्रदेश २ की सोभा आलेले ४० तथा सन्तोषी चौधरीले अविजित १५ रन बनाईन् । प्रदेश ३ की सुमन खतिवडा र करुणा श्री लामाले २/२ विकेट लिईन् ।
यो जितसंगै समूह 'बी' को दोस्रो स्थानमा रहेको प्रदेश २ ले ३ खेलबाट ४ अंक जोडेको छ । प्रदेश ३ को २ खेलबाट २ अंक छ ।
महाकाली स्पोर्ट्स सोसाइटीको आयोजनामा जारी प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहेको छ । जसमा सात प्रदेश र एक विभागीय टिम एपीएफको सहभागिता रहेको छ । ८ टोलीलाई २ समूह विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन् । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५/१५ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि अनुमानित ८८ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । जसमा ३५ लाख राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उपलब्ध गराउने आयोजकले जनाएको छ ।