एजेन्सी । अष्ट्रेलियाका कप्तान आरोन फिन्च टी–ट्वान्टी क्रिकेटको नम्बर एक ब्याट्सम्यान बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) ले सोमबार निकालेको टी–ट्वान्टी क्रिकेटको ब्याटिङ बरियतामा फिन्चले शीर्ष स्थान ओगटेका हुन् ।
टी–ट्वान्टी क्रिकेटको ब्याटिङ बरियताको शीर्ष स्थान हात पार्न फिन्चले ८९१ अंक पाएका छन् । अष्ट्रेलिया, जिम्बाबे र पाकिस्तान सम्मलित टी- ट्वान्टी अन्तर्राष्ट्रिय ट्राई सिरिज क्रिकेटमा उच्च प्रदर्शन गरेको कारण फिन्चले शीर्ष स्थान हात पारेका हुन् ।
बरियताको दोस्रो स्थानमा पाकिस्तानका फखर जमान रहेका छन् । उनले ८४२ अंक पाएका छन् । यस्तै ८१२ अंकसहित भारतका लोकेश राहुल तेस्रो, ८०१ अंकसहित न्युजिल्यान्डका कोलिन मुन्रो चौथो र ७६५ अंकसहित पाकिस्तानका बाबर अजाम पाँचौ स्थानमा रहेका छन् ।
त्यस्तै अष्ट्रेलियाका ग्लेन म्याक्स्वेल, वेष्ट इण्डिजका इभान लेविस, न्युजिल्यान्डका मार्टीन गुप्टिल र इंग्ल्यान्डका एलेक्स हालेस क्रमस पाँचौदेखि दशौंसम्म रहेका छन् ।
टी-ट्वान्टी क्रिकेटको बलिङतर्फ अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा रहेका छन् । राशिदले ८१३ अंक जोडेका छन् । यस्तै पाकिस्तानका शादब खान दोस्रो,न्युजिल्यान्डका इश सोधी तेस्रो,भारतका युजभेन्द्र चाहल चौथो र वेष्ट इण्डिजका साम्युएल बद्रि पाँचौ स्थानमा रहेका छन् ।
आइसीसीले निकालेको टी-ट्वान्टी क्रिकेटको अलराउन्डरतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्स्वेल शीर्ष स्थानमा छन् । अफगानिस्तानका मोहमद सामी दोस्रो स्थानमा रहदा बंगलादेशका शकिब अल हसन तेस्रो स्थानमा रहेका छन् । दक्षिण अफ्रीकाका जेपी डुमिनी चौथो र वेष्ट इण्डिजका मार्लोन स्यामुएल्स पाँचौ स्थानमा रहेका छन् ।