एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले मान्यता दिएको टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा फराकिलो रनको जितमा कीर्तिमान बनेको छ ।
अफ्रिकी मुलुक माली र युगाण्डाबीचको महिला टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा उक्त कीर्तिमान बनेको हो । उक्त खेलमा युगाण्डाले ३ सय ४ रनको जित निकालेको थियो । जुन टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक ठुलो रनको जित हो । यसअघि युएईको महिला टोलीले चीनको महिला टिमलाई १ सय ८९ रनले हराएको रेकर्ड थियो ।
युगाण्डले दिएको ३ सय १५ रनको लक्ष्य पछाएको माली मात्र १० रन जोड्दा अलआउट भएको थियो । मालीका लागि टेनिन कोण्टेले सर्वाधिक ४ रन बनाइन् ।
मालीका अन्य ३ खेलाडीले समान १/१ रन बनाउँदा ११ ओभर १ बलमा टिम १० रनमा अलआउट भयो । युगाण्डाका मिल्ड्रेड यानिगोले ३ तथा सुसन काकाइले २ विकेट हात परिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले २० ओभर खेल्दै २ विकेट गुमाएर ३ सय १४ रन बनाएको थियो । यो पुरुष महिला दुवै टी-ट्वान्टी खेलमा बनेको यो अहिलेसम्मको सर्वाधिक उच्च स्कोर हो ।
युगाण्डाका प्रोस्कोभिया आलको र कप्तान रिता मुसामालीले शतकीय इनिङ्स खेले । आलकोले ७१ बलमा १५ चौकाको मद्दतले १ सय १६ रन बनाइन् । यस्तै रिताले ६१ बलको सामना गर्दा १ सय ३ रनको योगदान गरिन् । बलिङतर्फ मालीका आइच कोनले १ विकेट हात पारिन् ।
यसअघि प्रतियोगितामा रुवाण्डाविरुद्धको खेलमा पनि माली ६ रनमा अलआउट भएको थियो ।