काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मोन्ट्रेल टाइगर्सले क्यानेडीयन लिग ग्लोबल टी-२० क्रिकेट लिगमा चौथो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा टोरन्टो नेसनलसंग १ विकेटले पराजित हुँदै सन्दीपको टिम मोन्ट्रेलले चौथो हार बेहोरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको मोन्ट्रेलले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १७६ रन जोडेको थियो । मोन्ट्रेलका जर्ज वोर्करले ६२ तथा मोइसेस हेन्रिक़ुएसले ५० रनको अर्धशतकीय पारी खेले । नेसनलका मोहमद सामीले ३ विकेट लिए ।
मोन्ट्रेलले दिएको १७७ रनको लक्ष्य टोरन्टोले पुरै २० ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो । टोरन्टोको जितमा नितिस कुमारले ४६ तथा एन्टोन पाउलले ४३ रन जोडे । मोन्ट्रेलका लाथिस मालिंगा र पिटर सिडले सामान ३ – ३ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन् ।
टोरन्टोविरुद्ध पनि नेपाली युवा लेग स्पिनर सन्दीपले उत्कृष्ट बलिङ गरे । सन्दीपले चार ओभर बलिङ गर्दै ३४ रन खर्चदै २ विकेट लिए । तर, सन्दीपले आफ्नो टोलीलाई जित दिलाउन भने सकेनन् । जारी प्रतियोगितामा यो सन्दीपको पाँचौ विकेट हो ।
सन्दीपले खेलेको अघिल्ला तीन खेलमा समान एक एक विकेट लिएका थिए । सन्दीपले दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन खर्चदै १ विकेट लिए । डेब्यु खेलमा भने सन्दीपले ४ ओभरमा ५७ रन खर्चदै मात्र १ विकेट लिएका थिए । तेस्रो खेलमा पनि सन्दीपले चार ओभर बलिङ गर्दै एक मेडनसहित १६ रन खर्चदै १ विकेट लिएका थिए ।
यो लिगको लागि सन्दीप छैटौं चरणमा छानिएका थिए । भारतम सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) लिगमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीप क्यानाडाको लिगपछि आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन् ।