एजेन्सी । श्रीलंकाले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक तथा उपाधि दाबेदार टिम इंग्ल्याण्डलाई पराजित गरेको छ । लासिथ मालिंगा चम्किएपछि शुक्रबार श्रीलंकाले ईङ्ल्याण्डलाई २० रनले पराजित गरेको हो ।
लिड्समा श्रीलंकाले दिएको २ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्याण्ड मलिंगाको धारिलो बलिङ सामु निरिह रह्यो । इंग्ल्याण्ड ४७ ओभरमा मात्र २ सय १२ रन जोड्दा अलआउट भयो ।
इंग्ल्याण्डका लागि बेन स्टोक्सले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोय रुटले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान इयान मोर्गन २१ रनमा आउट हुँदा मोइन अलीले १६ तथा जेम्स भिन्सले १४ रन बनाए ।
इंग्ल्याण्डलाई सस्तैमा समेट्न श्रीलंकाका लागि मालिंगाले १० ओभर बलिङ गर्दै ४३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।
यस्तै धनन्जय डी सिल्भाले ३ तथा इसुरु उडानाले २ विकेट लिए ।
यसअघि,टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३२ बनाएको थियो ।
श्रीलंकाका एन्जेलो म्याथ्युजले अविजित रहदै सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङस खेले ।
यस्तै अभिस्का फर्नान्डोले ४९ , कुशल मेण्डिसले ४६ तथा धननन्जय सिल्भाले २९ रन बनाए ।
श्रीलंकालाई सस्तैमा समेट्न इंग्ल्याण्डका जोफ्रा आर्चर र मार्क वुडले समान ३/३ विकेट हात पारे । यस्तै आदील रशिदले २ तथा क्रिस वोक्सले १ विकेट लिए ।
यो हारसंगै इंग्ल्याण्डले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । इंग्ल्याण्डले ६ खेलबाट ८ अंक जोडेको छ । प्रतियोगितामा दोस्रो हार व्यहोरेको इंग्ल्याण्ड तेस्रो स्थानमा छ ।
इंग्ल्याण्डलाई हराएसंगै श्रीलंकाले शीर्ष चारमा पुग्ने सम्भावना कायम राखेको छ । श्रीलंकाले ६ खेलबाट ६ अंक जोडेको छ र तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।