काठमाडौं । रुपनी राइडर्स सप्तरीमा जारी मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा बोदे बर्साइन थन्डर्सलाई १ सय १२ रनले पराजित गर्दै राइडर्सले फाइनलमा स्थान बनाएको हो ।
यो जितसंगै राइडर्सले ४ खेलमा ३ जित र १ नतिजाविहिन अंक सहित ७ अंक जोड्दै फाइनलमा स्थान बनाएको हो । अब शनिबार हुने तिलाठी कोइलाडी र डाक्नेश्वरी ड्रागनबीच खेल जित्ने टोलीले फाइनलमा स्थान बनाउने छ ।
रुपनी राइडर्सले दिएको २ सय ७४ रनको लक्ष्य पछ्याएको बर्साइनले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६१ रन मात्र बनाउन सक्यो ।
बर्साइनका लागि कप्तान मन्जित श्रेष्ठले अविजित ६६ रन बनाए । यस्तै अमित यादबले ३१ तथा बिधान गोश्वामीले २२ रन बनाए ।
राइडर्सका गोमानंद अमात्यले ३ विकेट तथा अनोज यादब र प्रदिप पासवानले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राइडर्सले २० ओभरमा १ विकेट गुमाएर २ सय ७३ रनको विशाल योगफल तयार गरको थियो ।
उसका सन्तोष कार्की र सोनु अन्सारीले शतकीय इनिङ्स खेलेका थिए । सन्तोषले १०० रन बनाउदा अविजित रहेका सोनुले ११४ रन बनाए । बर्साइनका मन्जित श्रेष्ठले १ विकेट लिए ।
यस्तै अर्को खेलमा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई ५ विकेटले पराजित गरेको छ । वारियर्सले दिएको १ सय २३ रनको लक्ष्य ड्रागनले १८ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।