काठमाडौं । प्रदेश नम्बर १ ले कंचनपुरमा जारी प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
महेन्द्रनगरमा शुक्रबार भएको खेलमा प्रदेश नम्बर २ लाई ८ विकेटले हराउँदै प्रदेश १ ले विजयी सुरुवात गरेको हो ।
प्रदेश २ ले दिएको ७२ रनको सामान्य लक्ष्य प्रदेश १ ले १४ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । प्रदेश १ को जितमा रुबिना क्षेत्रिले अविजित २६ रन जोडिन् ।
यस्तै काजल श्रेष्ठले १९ तथा रोमा थापाले १४ रन जोडिन् । प्रदेश २ की सन्तोषी चौधरी र सरस्वती चौधरीले १/१ विकेट लिए ।
यसअघि प्रदेश २ ले २० ओभरमा ९ विकेट गुमाएर ७१ रन बनाएको थियो । प्रदेश २ की शान्ति चौधरीले सर्वाधिक १४ रन जोडिन् । यस्तै सोभा आले र सरस्वती चौधरीले १३/१३ रन बनाए ।
महाकाली स्पोर्ट्स सोसाइटीको आयोजनामा जारी प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहेको छ । जसमा सात प्रदेश र एक विभागीय टिम एपीएफको सहभागिता रहेको छ । ८ टोलीलाई २ समूह विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन् । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५/१५ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि अनुमानित ८८ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । जसमा ३५ लाख राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उपलब्ध गराउने आयोजकले जनाएको छ ।