काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले क्यानडाको ग्लोबल टी–२० मा तिव्र गतिका बलर सोमपाल कामीको छनोटले आफुलाई बढी खुसी दिएको बताएका छन् ।
बिहिबार भएको ड्राफ्टमा सन्दीपसंगै सोमपाल पहिलो पटक विदेशी फ्रेन्चाईज लिग खेल्न छनोट भएका थिए ।
क्यानडाको फ्रेन्चाईज लिगमा दुई नेपाली खेलाडी चयन भएपछि शुक्रबार आयोजित पत्रकार सम्मेनलमा सन्दीपले आफु भन्दा सोमपालको छनोटको बढी खुसी दिएको बताएका हुन् ।
‘अहिले आफ्नोलागि भन्दा पनि सोमपाल (दाइ)को लागि खुसी छु ।’ सन्दीपले भने, ‘मेरो एउटा चाहाना थियो, म बाहेक अन्य खेलाडीले बिदेशी लिग खेलेको हेर्ने । र अहिले एक खेलाडी थपिएको छ । आशा छ, आउने दिनमा अझै थुप्रै खेलाडीले मौका पाउने छन् ।’
उनले क्यानडामा दुवै खेलाडीले राम्रो प्रर्दशन गर्न सक्दो कोशिश गर्ने बताएका हुन् ।
पहिलो पटक फ्रेन्चाईजमा छनोट भएका सोमपालले क्यानडाको फ्रेन्चाईज लिगमा छनोट हुन सन्दीप र नेपाली राष्ट्रिय टिमका म्यानेजर रमन सिवाकोटीको हात रहेको बताए ।
‘म छनोट हुनुमा सन्दीप र रमण (दाई)को ठुलो हात छ । उहाँले नै मलाई एजेण्ट भेटाइदिनु भएको हो ।’ उनले भने, ‘सन्दीपले एक बर्षदेखि बिदेशी लिग खेल्दै आएको छ । उसले उत्कृष्ट खेलाडी र प्रशिक्षक चिनेको छ । उसले गर्दा सायद म छनोट भएको हो । आशा गरौ, आगामी दिनमा अझ धेरै नेपाली खेलाडीले विदेशी लिगमा खेल्नेछन् ।’
प्रतियोगितामा सहभागी हुने बिषय टुङ्गो लागेपनि अन्य बिषय मैदानमा हुने प्रर्दशनमा निर्भर रहने सोमपालको भनाई छ ।
‘खेल्न पाउने नपाउने मैले निर्णय गर्न मिल्दैन । प्रशिक्षकको निर्णयमा भर पर्छ ।’ उनले भने, ‘सायद सुरुका केही खेल गुमाउनेछु । तर त्यसपछि टिमको परिस्थिती अनुसार टिममा पर्ने आश लिएको छु ।’