एजेन्सी । घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको टी- ट्वान्टी क्रिकेट सिरिज भारतले जितेको छ । आइतबार राति भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्डलाई ७ विकेटले हराउदै भारतले सिरिज जितेको हो ।
ब्रिस्टोलमा इंग्ल्यान्डले दिएको १९९ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । योसंगै भारतले ३ खेलको सिरिजमा २ – १ ले आफ्नो बनाएको हो । यसअघि भारतले पहिलो खेल जितेको थियो भने दोस्रो खेल इंग्ल्यान्डले जितेको थियो । भारतले अब घरेलु टोलीसंग एकदिवसीय क्रिकेट सिरिज खेल्नेछ ।
घरेलु टोलीबिरुद्ध भारतलाई जित दिलाउन रोहित शर्माले शतकीय पारी खेले । रोहितले अविजित १०० रन बनाए । यस्तै कप्तान विराट कोहलीले ४३ तथा हार्दिक पाण्डयले अविजित ३३ रन जोडे । इंग्ल्यान्डका डेभिड विली, ज्याक बल र क्रिस जोर्डनले समान १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १९८ रन जोडेको थियो । इंग्ल्यान्डको लागि जासन रोयले ६७ रनको अर्धशतकीय पारी खेल्दा जोस बट्लरले ३४ तथा एलेक्स हेल्सले ३० रन बनाए । भारतका हार्दिक पाण्डयले ४ विकेट लिदा सिद्दार्थ काउलले २ विकेट लिए ।