काठमाडौं । नेपाली राष्ट्रिय टोलीका दुई बलर सन्दीप लामिछाने र सोमपाल कामीले क्यानाडाको ग्लोबल टी-ट्वान्टी क्रिकेट लिग खेल्ने भएका छन् ।
बिहिबार भएको ड्राफ्टबाट लेग स्पीनर सन्दीप र तीब्र गतिका बलर सोमपाललाई ग्लोबल टी-ट्वान्टी लिग क्लबले खरिद गरेको छ ।
ड्राफ्टबाट सन्दीपलाई टोरन्टो नेसनल्सले १० औं चरणमा खरिद गरेको हो । सन्दीपले ६० हजार अमेरिकी डलर पाउने छन् ।
योसंगै सन्दीपले लगातार दोस्रो सिजन यस लिग खेल्ने भएका छन् । गत सिजन उनले मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए ।
सन्दीपको टिमको मार्की प्लेयर भारतीय स्टार युवराज सिंह रहेका छन् ।
यस्तै सोमपालले विनिपेग हक्सबाट खेल्नेछन् । सोमपाललाई ३ हजार अमेरिकी डलरमा हक्सले अनुबन्ध गरेको हो । सोमपाल ११ औं चरणमा छनोट भएका हुन् ।
सोमपालले पहिलो पटक ग्लोबल टी-ट्वान्टी लिग खेल्न लागेका हुन् । र, सोमपाल विदेशी फ्रेन्चाईज लिग खेल्ने दोस्रो नेपाली क्रिकेटर बनेका छन् ।
सोमपालको टिममा जेपी डुमिनी, ड्वेन ब्राभो र क्रिस लिन जस्ता खेलाडी रहेका छन् ।
यस सिजनको लिग आगामी जुलाई २५ देखि ११ अगष्टसम्म क्यानाडामा आयोजना हुँदैछ।