काठमाडौं । विभागीय टिम एपीएफ क्लबले कंचनपुरमा जारी प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
महेन्द्रनगरमा बिहिबार भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई १० विकेटले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।
सुदुरपश्चिमले दिएको ९१ रनको लक्ष्य एपीएफले १० ओभर ६ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।
एपीएफको जितमा सिता राना मगरले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ज्योति पाण्डेले २८ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो ।
सुदुरपश्चिमका लागि कविता जोशीले २९ रन जोडिन् । यस्तै रेवती धामीले १९ तथा बिन्दु रावलले ११ रन जोडिन् । एपीएफका सिता राना मगर र सरिता राना मगरले २/२ विकेट लिईन् ।
महाकाली स्पोर्ट्स सोसाइटीको आयोजनामा जारी प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन् । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५/१५ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि अनुमानित ८८ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । जसमा ३५ लाख राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उपलब्ध गराउने आयोजकले जनाएको छ ।