एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बंगलादेशलाई जितका लागि ३ सय ८२ रनको फराकिलो लक्ष्य दिएको छ ।
इंग्ल्याण्डको नटिङघममा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३ सय ८१ रन बनाएको छ ।
अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले विष्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ्स खेले । १ सय ४७ बलको सामना गरेका वार्नरले ५ छक्का र १४ चौकाको मद्दतमा १ सय ६६ रन बनाए ।
यस्तै उस्मान ख्वाजाले ८९ रन जोड्दा ओपनर तथा कप्तान आरोन फिन्चले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । ग्लेन म्याक्स्वेलले ३२ रन बनाए ।
बंगलादेशका सौम्या सरकार ३ तथा मुस्ताफिजुर रहमानले १ विकेट हात पारेका छन् ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । दुवै टोली जित निकाल्दै शीर्ष चारको सम्भावना बलियो बनाउन चाहन्छ ।
तुलनात्मक रुपमा बलियो टिम अष्ट्रेलिया पाँचौ जितको खोजीमा हुनेछ । अष्ट्रेलियाले ५ खेलमा ४ जित र १ हार व्यहोर्दै ८ अंक जोडेको छ ।
तेस्रो स्थानमा रहेको अष्ट्रेलिया बंगलादेशलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लन चाहन्छ । तर, उच्च प्रदर्शन गरिरहेको बंगलादेशसंग अष्ट्रेलिया शतर्क भएर खेल्नेछ ।
बंगलादेश पनि अष्ट्रेलियालाई पराजित गर्दै आफुलाई उपाधि दाबेदारको रुपमा उभ्याउन चाहन्छ । जसको लागि बंगलादेशले जादुमय प्रदर्शन गर्नु पर्नेछ । बंगलादेशले जारी विश्वकपमा जुझारु प्रदर्शन समेत गरिरहेको छ ।
बंगलादेशले ५ खेलबाट ५ अंक जोडेको छ । बंगलादेशले २ जित, २ हार र एक खेल बराबरी खेलेको छ ।