काठमाडौं । प्रदेश नम्बर ३ ले कंचनपुरमा जारी प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
महेन्द्रनगरमा बिहिबार भएको खेलमा कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै प्रदेश ३ ले सुखद सुरुवात गरेको हो ।
प्रदेश नम्बर ३ ले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश १५ ओभर ३ बलमा अलआउट हुँदै ६६ रनमा समेटियो ।
कर्णालीका लागि रबिना चौधरीले सर्वाधिक २२ रन बनाईन् । कर्णालीलाई सस्तैमा समेट्न खुसी डंगोलले ५ विकेट लिईन् । यस्तै सुमन खतिवडाले २ विकेट लिईन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले २० ओभरमा ३ विकेट गुमाएर १५६ रन बनाएको थियो ।
प्रदेश ३ का लागि अश्मिना कर्माचार्यले अविजित ४७ रन बनाईन् । यस्तै अस्मिता खरेल र कन्चन श्रेष्ठले समान २८/२८ रन जोडिन । सुमन खतिवडाले २१ रन बनाईन् ।
कर्णालीका सरिता जिसीले १ विकेट लिईन् ।
जितसंगै समूह 'बी' को प्रदेश ३ ले २ अंक जोडेको छ । कर्णालीको यो लगातार दोस्रो हार हो ।
महाकाली स्पोर्ट्स सोसाइटीको आयोजनामा जारी प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन् । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५/१५ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि अनुमानित ८८ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । जसमा ३५ लाख राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उपलब्ध गराउने आयोजकले जनाएको छ ।