एजेन्सी । पाकिस्तानले तीन राष्ट्र सम्मलित टी- ट्वान्टी अन्तर्राष्ट्रिय ट्राई सिरिज क्रिकेटको उपाधि जितेको छ । घरेलु टोली जिम्बाबेसम्मलित सिरिजको फाइनलमा अष्ट्रेलियालाई ६ विकेटले हराउदै पाकिस्तानले सिरिज जितेको हो ।
जिम्बाबेको हरारेमा अष्ट्रेलियाले दिएको १८४ रनको लक्ष्य पाकिस्तानले १९ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानको जितमा फखर जमानले ९१ रनको उत्कृष्ट पारी खेले । त्यस्तै सोयब मल्लिकले अविजित ४३ रन जोड्दा कप्तान सर्फ्राज अहमेदले २८ र आसिफ अलीले अविजित १७ रन जोडे । अष्ट्रेलियाका ग्लेन म्याक्स्वेलले २ तथा झे रिचर्डसनले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ३० ओभरमा ८ विकेट गुमाएर १८३ रन जोडेको थियो । अष्ट्रेलियाको लागि म्याथ्यु शर्टले ७३ रन जोड्दा कप्तान आरोन फिन्चले ४७ रन जोडे । टर्भिस हेडले १९ रन बनाए । पाकिस्तानका मोहमद अमीरले ३ तथा शादब खानले २ विकेट लिए ।
यो जितसंगै पाकिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को टी-ट्वान्टी वरियताको शीर्ष स्थान समेत यथावत राख्न सफल भएका छन् । सिरिजमा दुवै टोलीले ४ खेलबाट समान १२ - १२ अंक जोडेर फाइनल यात्रा तय गरेका थिए । जिम्बाबेले भने सबै खेल गुमाएको थियो ।