काठमाडौं । प्रदेश नम्बर २ ले कंचनपुरमा जारी प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
महेन्द्रनगरमा बुधबार भएको खेलमा प्रदेश २ ले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
कर्णालीले दिएको ५९ रनको लक्ष्य प्रदेश २ ले ६ ओभर १ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
प्रदेश २ का लागि शान्ति चौधरीले अविजित १८ तथा नीर कुमारी बलम्पाकीले १५ रन जोडे । कर्णालीका सरिता जीसीले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९ ओभर २ बलमा अलआउट हुँदै ५८ रन बनाएको थियो । कर्णालीका रबिना चौधरीले सर्वाधिक १३ रन जोडिन् ।
कर्णालीलाई सस्तैमा समेट्न प्रदेश २ की शान्ति चौधरीले ३ विकेट लिईन् ।
यसअघि उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेशले पनि गण्डकी प्रदेशलाई ९ विकेटले हराएको थियो ।
महाकाली स्पोर्ट्स सोसाइटीको आयोजनामा जारी प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहेको छ । जसमा सात प्रदेश र एक विभागीय टिम एपीएफको सहभागिता रहेको छ । ८ टोलीलाई २ समूह विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन् । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५/१५ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि अनुमानित ८८ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । जसमा ३५ लाख राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उपलब्ध गराउने आयोजकले जनाएको छ ।