काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पुर्व घोषित पुरस्कार खेलाडीलाई दिन आयोजक संस्था तयार भएका छन् ।
प्रतियोगिताको अन्तिम दिन आयोजकद्वय राष्ट्रिय खेलकुद परिषद् राखेप र नीजि ईभेन्ट कम्पनी नेपालय ईन्टरनेश्नल प्रालीले विधागततर्फको पुरस्कार वितरणमा बदमासी गरेको थिए ।
उनीहरुले पुर्व घोषिण पुरस्कार रकम खेलाडीलाई दिन नसक्ने बताएका थिए । सोही कारण खेलाडीले विधागततर्फको पुरस्कार वहिष्कार गरेका थिए ।
प्रतियोगिता सञ्चालन अघि आयोजकद्वयले सर्वोकृष्ट खेलाडीलाई बाईक र विधागततर्फका उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।
तर अन्तिम समयमा सर्वोकृष्ट खेलाडीलाई ५० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीलाई ३० हजार रुपैयाँ दिएर आयोजकले टार्न खोजिएको थिए ।
पुरस्कार रकममा आयोजकले बदमासी गरेपछि आयोजक संस्था राखेप र नेपालयको चर्को आलोचना भएको थियो । आयोजक संस्था राखेपले पुरस्कारको दायित्व नेपालयको रहेको भन्दै पुर्व घोषित पुरस्कार दिलाउने आश्वासन दिएको थियो ।
सोही कारण खेलाडीले अहिलेसम्म विधागततर्फको पुरस्कार रकम लिएका छैनन् ।
राखेप सदस्य सचिव केशवकुमार विष्टले पत्रकार सम्मेलनमा घोषणा गरिएको रकम खेलाडीलाई दिन आयोजक सहमत भएको खेलपाटीलाई बताए ।
‘दिने भनेर सार्वजनीक गरेको पैसा खेलाडीले केही दिनमा पाउँछन् ।’ उनले भने, ‘बोलेको कुरा दिनुपर्छ भन्नेमा नेपालय समेत तयार छ । केही दिनमा हामी खेलाडीलाई पुर्व घोषित पुरस्कार उपलब्ध गराउनेछौ ।’
नेपाल क्रिकेट संघ क्यान अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको निलम्बनमा परेपछि सरकारी तवरबाट प्रधानमन्त्रीको नाममा एकदिवसीय प्रतियोगिताको सुरुवात भएको थियो ।
सरकारी संस्था राखेपले दोस्रो संस्करणको प्रतियोगिता आयोजक नेपालयलाई तेस्रो संस्करणको प्रतियोगिता व्यवस्थापनको जिम्मेवारी दिएको थियो । राखेपले ८० लाख र बाँकी रकम नेपालयले व्यस्थापन गर्ने भन्दै १ करोड ७५ लाखको प्रतियोगिता सार्वजनीक गरिएको थियो ।
सोही अनुसार सहभागी टिम र उत्कृष्ट खेलाडीले पाउने रकम घोषणा गरिएको थियो । तर अन्तिम समयमा आएर आयोजकले खेलाडीलाई दिने पुरस्कार रकममा बदमासी गरेका थिए ।