काठमाडौं । सुदुरपश्चिम प्रदेशले कंचनपुरमा सुरु प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
महेन्द्रनगरमा बुधबार भएको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदुरपश्चिमले शानदार सुरुवात गरेको हो ।
गण्डकीले दिएको ५९ रनको सामान्य लक्ष्य दिएको सुदुरपश्चिमले ७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
सुदुरपश्चिमको जितमा कविता कुँवरले अविजित २१ रन जोडिन । यस्तै रेवती धामीले अविजित १२ तथा कविता जोशीले १२ रन बनाईन् । गण्डकीकी मनिषा उपाध्यायले १ विकेट लिईन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा अलआउट हुँदै ५८ रन बनाएको थियो ।
गण्डकीका लागि शिला रेग्मीले अविजित १९ रन जोड्दा सुशिला गुरुङले १७ रन जोडिन । अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् ।
गण्डकीलाई सस्तैमा समेट्न सुदुरपश्चिमकी लक्ष्मी साउद, जानकी भट्ट र कविता कुँवरले २/२ विकेट लिईन् ।
महाकाली स्पोर्ट्स सोसाइटीको आयोजनामा जारी प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहेको छ । जसमा सात प्रदेश र एक विभागीय टिम एपीएफको सहभागिता रहेको छ । ८ टोलीलाई २ समूह विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन् । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५/१५ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि अनुमानित ८८ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । जसमा ३५ लाख राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उपलब्ध गराउने आयोजकले जनाएको छ ।