एजेन्सी । अफगानिस्तानलाई हराउँदै इंग्ल्याण्ड घरेलु मैदानमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा मंगलबार इंग्ल्याण्डले अफगानिस्तानलाई १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
हालै टेष्ट मान्यता पाएको अफगानिस्तान र इंग्ल्याण्डबीचको खेलमा फराकिलो अन्तरको हार जित मात्र हैन थुप्रै कीर्तिमान समेत बनेको छ ।
इंग्ल्याण्ड र अफगानिस्तानबीचको खेलमा बनेको मुख्य ६ कीर्तिमानहरु :
१. सर्वाधिक छक्का
इंग्ल्याण्डले अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दै एकै इनिङ्समा २५ छक्का प्रहार गरेको थियो । यो कुनै पनि एकदिवसीय खेलमा एक राष्ट्रले प्रहार गरेको सर्वाधिक छक्का हो ।
विस्फोटक ब्याटिङ गरेको इंग्ल्याण्डका कप्तान इयान मोर्गनले १७ छक्का प्रहार गरे । यस्तै मोइन अलीले ४, जोनी बेष्ट्रोले ३ तथा जो रुटले १ छक्का प्रहार गरे ।
२. सर्वाधिक रन खर्चने बलर
आईसीसीको टी-ट्वान्टी अलराउण्डर तर्फको बलिङ वरियतामा अफगानी बलर राशिद खान शीर्ष स्थानमा रहेका छन् । तर, इंग्ल्याण्डविरुद्ध राशिदको दिन निकै खराब रह्यो ।
इंग्ल्याण्डविरुद्ध खराब प्रदर्शन गरेका राशिद एकदिवसीय विश्वकप क्रिकेटमा सर्वाधिक रन खाने बलर बनेका छन् । इंग्ल्याण्डविरुद्ध राशिदले ९ ओभर बलिङ गर्दै ११० रन खर्चिए र विकेटविहीन बने ।
३. सर्वाधिक ठुलो साझेदारी
इंग्ल्याण्डका कप्तान इयान मोर्गन र जोय रुटले तेस्रो विकेटका लागि १ सय ८९ रनको साझेदारी गरे । जुन साझेदारी इंग्ल्याण्डका खेलाडीले विश्वकपमा गरेको उच्च साझेदारी हो । यस क्रममा मोर्गनले ६९ बलमा १ सय ४२ तथा रुटले ३३ बलमा ४३ रन बनाएका थिए ।
४. सय रन बढी खर्चने पहिलो स्पिनर
अफगानिस्तानका स्ट्राइक बलर राशिद खान पुरुष एकदिवसीय क्रिकेटको एकै इनिङ्समा १०० भन्दा बढी रन खर्चने पहिलो स्पिनर बनेका छन् । उनले इंग्ल्याण्डविरुद्ध खराब बलिङ गरेका राशिदले ९ ओभर बलिङ गर्दै ११० रन खर्चिएका थिए ।
५. एकल खेलाडीको सर्वाधिक छक्का
इंग्ल्याण्डको शानदार जितमा विस्फोटक ब्याटिङ गरेका कप्तान इयान मोर्गनले १७ छक्का प्रहार गरे । जुन एकदिवसीय क्रिकेटको एकै इनिङ्समा एक खेलाडीले प्रहार गरेको सर्वाधिक छक्का हो । यस अघि १६ छक्का प्रहार गरेका क्रिस गेल र युवराज सिंहको नाममा रहेको थियो ।
६. एकदिवसीयमा सर्वाधिक छक्का
अफगानिस्तानविरुद्धको खेलपछि इंग्ल्याण्डका कप्तान इयान मोर्गन एकदिवसीय खेलमा सर्वाधिक छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । मोर्गनले एकदिवसीय खेलमा १ सय ३८ छक्का प्रहार गर्दै सो रेकर्ड बनाएका हुन् । अफगानिस्तानविरुद्ध मोर्गनले १७ छक्का प्रहार गरेका थिए ।