एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले मान्यता दिएको टी-ट्वान्टी क्रिकेटमा अनौठो कीर्तिमान बनेको छ ।
अफ्रिकी मुलुक माली र रुवाण्डाबीचको महिला टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा अनौठो कीर्तिमान बनेको हो ।
उक्त टी-ट्वान्टीमा माली मात्र ६ रन जोड्दा अलआउट भएको थियो । मालीले ९ ओभर खेल्दै ६ रन बनाएर सबै विकेट गुमाएको थियो । जुन टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक कम स्कोरको कीर्तिमान हो ।
यसअघि चीनको नाममा सर्वाधिक कम स्कोरको कीर्तिमान थियो । चीनको महिला टिमले गत जनवरीमा युएईविरुद्ध १४ रनमा अलआउट हुँदै टी-ट्वान्टीमा सर्वाधिक कम स्कोरको कीर्तिमान बनाएको थियो ।
मालीका मरिम समाकेले मात्र १ रन जोडेकी थिईन् । बाँकी ५ रन मालीले अतिरिक्त पाएको थियो । मालीले २ बाई, २ लेग बाई र १ वाइडबाट रन पाएको थियो ।
रुवाण्डाकी जोसियानेले ३ विकेट लिईन् ।
मालीले दिएको ७ रनको लक्ष्य रुवाण्डाले ४ बलमा बिना विकेट पुरा गर्दै १० विकेटको जित निकालेको थियो ।