सप्तरी । राजविराजमा जारि दोस्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिगमा मंगलबार रुपनी राइडर्स र डाक्नेश्वरी ड्रागनले जित निकालेका छन् ।
पब्लिक विन्देश्वरी स्कुल मैदानमा भएको पहिलो खेलमा मेहबुब आलमको कप्तानीमा रहेको राइडर्सले तिलाठी कोइलाडी जायन्टसलाई ५ रनले पराजित गर्यो ।
वर्षाको कारण ५/५ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको राइडर्सले निर्धारित ५ ओभरमा ८ विकेट गुमाएर ३२ रन बनाएको थियो । ३३ रनको लक्ष्य पछ्याएको तिलाठी कोइलाडीले ५ ओभरमा मात्र २७ रन बनाउन सक्यो ।
सुनिल धमलाले ११ र कप्तान रोहन बिकले १२ रन बनाएपनि जित दिलाउन सकेनन् ।
यसअघि राइडर्सका लागि मेहबुब आलमले सर्वाधिक १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । तिलाठी कोइलाडीका अनिल यादबले ३ तथा रोहित सिंहले २ विकेट लिए।
यस्तै दोस्रो खेलमा पुष्प थापाको कप्तानीमा रहेको ड्रागनले मन्जित श्रेष्ठको कप्तानीमा रहेको बोदे बर्साइन थण्डर्सलाई ७ विकेटले पराजित गर्यो ।
थण्डर्सले दिएको ११९ रनको लक्ष्य ड्रागनले १८ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। उसका लागि बिशाल सुश्लिंगले अविजित ३५ रन बनाए । यस्तै कप्तान पुष्प थापाले अविजित २९ र दिपेश कंडेलले २४ रन बनाए ।
बोदे बर्साइनका लागि मिनास थापा, ओपन राई र मन्जित श्रेष्ठले १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थण्डर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रनको योगफल तयार गरेको थियो ।
उसको लागि कप्तान मन्जित श्रेष्ठले सर्वाधिक २४, मुकुन्द यादबले २०, पवन दासले १५ तथा आदर्श यादबले अविजित १७ रन बनाए ।
ड्रागनका चित्र बहादुर थापा, रोबिन सिंह र दिपेश कंडेलले समान २/२ विकेट लिए।