काठमाडौं । बोडे बर्साइन थन्डर्सले सप्तरी प्रिमियर लिगको दोश्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।
सोमबार भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक वारिवर्सलाई ३३ रनले पराजित गर्दै थन्डर्सले सुखद सुरुवात गरेको हो ।
थन्डर्सले दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा वारिवर्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्रै बनाउन सक्यो । उसका हरिशंकर शाहले २९ बलमा ४ चौका र २ छक्काको मद्दतले सर्वाधिक ४५ रन बनाए । यस्तै संसाद शेखले अविजित ३९ रनको योगदान गरे । बोडे बर्साइनका कप्तान मन्जित श्रेष्ठले सर्वाधिक २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थण्डर्सले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । उसको मुकुन्द यादवले विस्फोटक इनिङ खेल्दै १५ बलमा ५ चौका र ४ छक्का मदतले अविजित ४९ रन बनाएका थिए ।
यस्तै २२ बलमा ३ छक्का र २ चौका प्रहार गरेका अमित यादवले अविजित ३४ रन बनाउँदा पवन दासले ३३, मिनास थापाले ३२ तथा कप्तान मन्जित श्रेष्ठले १२ रनको योगदान गरे ।
वारिवर्सका नन्दन झा र योगराज शर्माले समान १/१ विकेट हात पारे ।
प्रतियोगितामा ५ टिमको सहभागी रहेको छ । अंकतालिकाको शीर्ष स्थानमा रहने २ टोलीले असार ८ गते फाइनल खेल्नेछन् ।
प्रतियोगिताको विजेताले २ लाख तथा उप-विजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।