एजेन्सी । विश्वकप क्रिकेटमा भारतलाई अर्को झट्का लागेको छ । विश्वकपको दौरान मुख्य ब्याट्सम्यान शिखर धवनलाई गुमाएको भारतले फास्ट बलर भुवनेश्वरलाई समेत करिब तीन खेलका लागि गुमाउने भएका छन् ।
तिब्र गतिका बलर भुवनेश्वर कुमारले पाकिस्तानविरुद्वको खेलमा चोट बोकेका छन् । उनले भारतले खेल्ने आगामी २ देखि ३ खेल गुमाउनेछन् ।
पाकिस्तानबिरुद्द बलिङ गर्ने क्रममा देब्रे खुट्टामा उनले चोट बोेकेका थिए । सो खेलमा उनले २ ओभर ४ बल बलिङ गर्दै मैदान छाडेका थिए ।
खेल पश्चात कप्तान बिराट कोहलीले भुवनेश्वरले अफगानिस्तान र वेष्ट इण्डिजबिरुद्दको खेल गुमाउने बताएका छन् । उनका अनुसार भुवनेश्वरले इङ्ल्याण्डविरुद्वको खेल समेत गुमाउन सक्नेछन् ।
’भुवनेश्वरलाई चोट लागेको हैन, बलिङ गर्न थोरै असहज मात्र भएको हो ।’ बिराटले भने, ‘खुट्टा टेक्ने बेलामा थोरै चिप्लिएको मात्र हो । उनलाई केहि दिन आराम दिने छौं । आशा छ, उनले तीन भन्दा धेरै खेल गुमाउने छैनन् ।’
भारतका ओपनर शिखर धवन अस्ट्रेलियाबिरुद्दको खेलमा औलाको चोटका कारण २ हप्ता मैदान बाहिर छन् ।
आईतबार भएको खेलमा पाकिस्तानलाई डीएल पद्दतिको आधारमा भारतले ८९ रनले पराजित गरेको थियो । जितसंगै तेस्रो स्थानको भारतले ४ खेलबाट ७ अंक जोडेको छ ।