काठमाडौँ । मलेसियामा आयोजना हुने एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको लागि खेलाडीको नाम पठाउने आज अन्तिम दिनसम्म नेपालले आफ्ना खेलाडीको सुचि पठाउन सकेन । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) मा खेलाडीको नाम पठाउने समयसिमा आज (बिहिबार) सम्म तोकिएको थियो ।
८ राष्ट्र सहभागी प्रतियोगिता जुलाई २ मा सुरु हुनेछ ।
प्रतियोगिता सुरु हुन एक महिना भन्दा कम समय रहेको अवस्थामा खेलाडीकाे क्याम्प समेत सुरु हुन सकेको छैन । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि नेपली क्रिकेटको अन्तराष्ट्रिय गतिविधि आईसीसीले हेर्दै आएको छ ।
नेपाली युथ टिमका मुख्य प्रशिक्षक बिनोद दासले क्याम्प सुरु गर्न केही समय अघि आईसीसीलाई पत्र पठाएपनि हालसम्म जवाफ नआएको खेलपाटीलाई बताए । सोही कारण खेलाडीको बन्द प्रशिक्षण सुरु हुन नसकेको उनले उल्लेख गरेका छन् ।
'आईसीसीको अनुमति बिना क्याम्प सुरु गर्न मिल्दैन । आशा गरौ हामीले पठाएको प्रस्तावमा केही दिनमा जवाफ आउनेछ ।’ बिनोदले भने ।
आईसीसीको जवाफ नआएपछि नेपाली टिमले बिहिबारबाट अनौपचारिक अभ्यास भने सुरु गरेको छ ।
‘हामीले अहिले यु–१९ का १८ जना खेलाडी र यु–१६ मा राम्रो प्रदर्शन गरेका केहि खेलाडीलाई बोलाएर अनौपचारिक अभ्यास सुरु गरेका छौं ।’ उनले थपे ।
क्याम्पनै सुरु नभए खेलाडी छनोट नहुने भन्दै उनले सोही कारण खेलाडीको सुचि बुझाउन ढिलो भएको प्रशिक्षक दास बताउँछन् ।
उनले भने, ‘आज अन्तिम दिन भएपनि आईसीसीका कारण ढिलो हुन पुग्यो । नाम पठाउन केही दिन समय थप हुनेछ ।’
क्यान निलम्बनमा रहदाँ घरेलु प्रतियोगिता मात्र प्रभावित भएका छैनन्, अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीले समेत दुख पाएका छन् । तयारी समयमा सुरु हुन नसक्दा मुख्य प्रतियोगितामा नेपालको प्रर्दशन प्रभावित हुदै आएको छ । यस्तै, प्रतियोगिताको तयारीको लागि आईसीसीलाई भारत भ्रमणको प्रस्ताब गरेको उनले बताएका छन् ।
एसीयन क्रिकेट काउन्सिल (एसीसी)ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दीको रुपमा म्यानमार रहेको छ ।
समूह 'ए’ मा रहेको नेपालले म्यानमारसंग जुलाई २ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा जुलाई ५ मा सिंगापुर र अन्तिम खेलमा जुलाई ६ मा चीनसंग खेल्नेछ ।
अर्को समूहमा आयोजक मलेसिया, भुटान, हङकङ र थाईल्याण्ड रहेका छन् ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । बिजेता टोलीले एसिया कपमा स्थान बनाउने छन् ।