काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पुरस्कार वितरणमा आयोजकले ठगी गरेको छ ।
सरकारकै जिम्मेवार निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) र नीजि कम्पनी नेपालयको संयुक्त आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विधागततर्फको पुरस्कार वितरणमा ठगी गरिएको छ ।
प्रतियोगिता सुरु हुनु अघि सर्वोकृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गर्ने घोषणा गरिएको थियो । तर प्रतियोगिता सकिएपछि आयोजकले सर्वोकृष्ट खेलाडी बनेका ललित राजवंशीलाई ५० हजार रुपैयाँ दिएर टारेको छ ।
त्यस्तै विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही ५० हजार दिने घोषणा गरिएको थियो । तर तेस्रो संस्करणको विधागततर्फका उत्कृष्ट खेलाडीले जनही ३० हजार रुपैयाँ मात्र प्राप्त गरेका छन् ।
सह आयोजक नेपालय इन्टरनेश्नल प्रा लिका अध्यक्ष सुवास चन्द्र प्रधानले सर्वोकृष्ट खेलाडीलाई बाईक वा ५० हजार मध्य एक दिने भनेको उल्लेख गर्दै सोही अनुसार ५० हजार रुपैयाँ दिएको बताए ।
'बाईक वा ५० हजार भनिएको थियो । त्यही भएर अहिले ५० हजार दिएको हो ।' पुरस्कार वितरण कार्यक्रममा उनले खेलपाटीलाइ भने ।
तर प्रतियोगिता सुरु हुनु अघि आयोजित पत्रकार सम्मेलनमा उनले सर्वोकृष्ट खेलाडीलाई बाईक दिने बताएका थिए । उनले पुरस्कार रकममा मात्र आयोजकले करिब ५० लाख खर्च गर्ने बताएका थिए ।
राखेप सदस्य सचिव केशवकुमार विष्टले बाइककाे आधिकारिक घोषणा नगरिएकाले खेलाडीलाई मोटरसाईकल उपलब्ध नगराईएको बताए ।
'उनीहरु (नेपालय)ले बाईक मिलाउँछौ भनेका थिए । आधिकारिक घोषणा भएको थिएन । नमिलेर पैसा दिएको हुनपर्छ ।' उनले खेलपाटीसंग भने ।
नेपाली क्रिकेट आईसीसीको निलम्बनमा परेपछि राखेपले प्रधानमन्त्रीको नाममा एकदिवसीय प्रतियोगिता आयोजना गर्दै आएको छ । पछिल्ला दुई संस्करण उसले नेपालय नामको नीजि कम्पनीसंग मिलेर प्रतियोगिताको आयोजना गरेको थियो । तर प्रधानमन्त्रीकै नाममा आयाेजित प्रतियाेगितामा आयाेजकले ठगी गरेकाे छ ।
प्रतियोगिताको लागि १ करोड ७५ लाख रुपैयाँ लाग्ने आयोजकको दाबी थियो । बजेट मध्य परिषदले ८० लाख र बाँकी रकम नेपालयले उपलब्ध गराउने सहमती थियो । सोही अनुसार पुरस्कार लगायतका अन्य खर्च नेपालयले उपलब्ध गराउनुपर्ने थियो ।