काठमाडौं । नेपाल पुलिस क्लबका बलर ललित नारायण राजवंशी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनेका छन् ।
पुलिसलाई प्रतियोगिताको उपाधि जिताउन मुख्य भूमिका खेलेका ललित सर्वोकृष्ट खेलाडी बन्दै प्लेयर अफ दि टुर्नामेन्ट बनेका हुन् ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
ललितले प्रतियोगिताको ६ खेलमा १२३ रन खर्चेर २० विकेट लिएका थिए । प्लेयर अफ दि टुर्नामेन्टसंगै ललित प्रतियोगिताको उत्कृष्ट बलर समेत चुनिए ।
सर्वोकृष्ट खेलाडी बनेका ललितले ५० हजार नगद प्राप्त गरे । उत्कृष्ट बलर बनेका ललितले ३० हजार समेत प्राप्त गरे ।
यस्तै आर्मीका राजु रिजाल उत्कृष्ट ब्याट्सम्यान चुनिए । राजुले प्रतियोगितामा ६ खेलमा २६१ रन बनाएका थिए । उनले ३० हजार प्राप्त गरे ।
खडक बोहरा प्रतियोगिताको उदयमान खेलाडी घोषित भए । उनले १० हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको मस्ट भ्यालुएबल प्लेयर पवन सर्राफ चुनिए ।