काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिको छिनोफानो आज (शनिबार) हुँदैछ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धामा उत्रनेछन् । दुवै टोली उपाधि जित्ने लक्ष्य सहित मैदान उत्रनेछन् ।
यसअघिका दुवै संस्करणको फाईनल खेलेको आर्मीले एकल रुपमा उपाधि उचाल्न सकेको छैन । यद्दपी पहिलो संस्करणको फाइनल खेलमा खराब मौसमका कारण खेल रद्द हुँदा आर्मी र पुलिसले उपाधि बाँडेका थिए । दुवै टोलीले एकल रुपमा भने पीएम कपको उपाधि जित्न सकेको छैन ।
पीएम कपको दोस्रो संस्करणमा एपीएफले आर्मीलाई ६ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो । यस पटक भने आर्मी पुलिसलाई हराएर उपाधि उचाल्न चाहन्छ ।
यस्तै आर्मी समूह चरणमा पुलिससंगको हारको बदला लिने योजनामा हुनेछ । आर्मी समूह चरणको अन्तिम खेलमा पुलिससंग ५० रनले पराजित भएको थियो ।
यता, पुलिस पनि अपराजित यात्रा कायम राख्दै उपाधि उचाल्ने दाउमा हुनेछ ।
सेमिफाइनलमा आर्मीले प्रदेश ३ लाई हराएर फाइनल पुगेको थियो । पुलिसले एपीएफलाई ५ विकेटले पराजित गर्दै आर्मीसंगको भेट पक्का गरेको थियो ।
आर्मीसंग यस पटक लयमा रहेका खेलाडीको साथ रहेको छ । प्रतियोगितामा सर्वाधिक रन बनाउने राजु रिजाल आर्मीको जर्सीमा मैदान उत्रनेछन् ।
राजुले ५ खेलमा ३ अर्धशतकको मद्दतले २ सय २९ रन बनाएका छन् । आर्मीलाई कप्तान बिनोद भण्डारी सहित युवा स्टार रोहित कुमार पौडेल लगायतका खेलाडीको साथ छ ।
यता पुलिस भने अमित श्रेष्ठ, ललित नारायण राजवंशी, दिपेन्द्र सिंह ऐरी लगायत युवा खेलाडीको बलमा फाईनलमा चम्किने लक्ष्य लिएको छ ।
प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।