काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लबले डर्बी क्लब नेपाल पुलिस क्लबलाई ४२ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २२ ओभर १ बलमा अलआउट हुँदै ४१ रन बनायो ।
एपीएफका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका शरद भेषवाकर र पृथु बास्कोटाले सर्वाधिक ७/७ रन जोडे ।
यस्तै अमर सिंह रौटेलाले अविजित ६ रन जोड्दा सन्दीप जोराले ५ रन बनाए । आसिफ शेख, प्रदिप ऐरी,दिपेन्द्र राउत र सुमित महर्जन २/२ रनमा आउट हुँदा कप्तान बसन्त रेग्मी सुन्य रनमा आउट भए ।
एपीएफलाई सस्तैमा समेट्न पुलिसका लागि ललित नारायण राजवंशीले किफायती बलिङ गरे । ललितले ६ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए । कुशल भुर्तेलले ५ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिए । यस्तै सागर ढकालले ८ ओभर १ बलमा ३ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए ।
यस खेलका विजेताले शनिबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । आर्मी प्रदेश ३ लाई हराएर फाइनल पुगिसकेको छ ।
प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।