काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाईनलमा आज (बिहिबार) नेपाल पुलिस क्लब र एपीएफबीच प्रतिस्पर्धा हुदैछ ।
मञ्जित श्रेष्ठ कप्तानीको पुलिस र बसन्त रेग्मी नेतृत्वको एपीएफ टिम फाईनल प्रवेशका लागि भिड्न लागेका हुन् ।
दुवै टोलीको खेल कीर्तिपुर मैदानमा बिहान सवाँ ९ बजे सुरु हुनेछ ।
विजेता टिमले उपाधिका लागि आर्मीसंग प्रतिस्पर्धा गर्नेछ ।
पुलिस समुह बीको विजेता र एपीएफ क्लब समह एको उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थिए ।
समुह बीको खेलमा पुलिसले सतप्रतिशत जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको थियो । उसले आर्मी, प्रदेश २, १ र कर्णाली प्रदेशलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो ।
समुह एमा भने एपीएफले ३ खेलमा जित निकालेको थियो । समुह चरणको खेलमा एपीएफले प्रदेश ५ संग हार ब्यहोरेको थियो ।
जारी प्रतियोगितामा पुलिसबाट सर्वाधिक रन बनाउने अमित श्रेष्ठ पाँचौ नम्बरमा छन् । उनले चार ईनिङ्समा १ सय ६५ रन बनाएका छन् ।
यता एपीएफबाट सर्वाधिक रन बनाउने प्रदीप सिंह ऐरी छैटौ नम्बरमा छन् । उनले समेत चार ईनिङ्समा १ सय ६० रन बनाएका छन् ।
दुवै ब्याट्सम्यान आ आफ्नो टिमलाई फाईनल पुर्याउन महत्वपुर्ण हुन सक्छन् ।
प्रतियोगितामा सर्वाधिक दोस्रो विकेट लिएका पुलिसका दिपेन्द्र सिंह ऐरी एपीएफका लागि महङ्गो पर्न सक्नेछन् । उनले प्रतियोगितामा १३ विकेट लिएका छन् ।
आर्मीका सहाब आलम दिपेन्द्र भन्दा मात्र एक विकेटले अगाडी छन् ।