काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर ३ लाई जितका लागि ३१० रनको फराकिलो लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३०९ रन बनायो ।
आर्मीको लागि कप्तान बिनोद भण्डारी र राजु रिजालले अर्धशतकीय इनिङ्स खेले । बिनोदले अविजित ७५ रन जोड्दा राजुले ५१ रन जोडे ।
यस्तै रोहित कुमार पौडेलले ४३ रन जोड्दा हरि बहादुर चौहानले ३८ तथा राजेश पुलामी मगरले २९ रन बनाए।
कुशल मल्ल २६ रनमा अविजित रहदा करण केसीले २१ रन बनाए ।
पारस खड्काको नेतृत्वमा रहेको प्रदेश ३ का लागि नन्दन कुमार यादव र जितेन्द्र सिंह ठकुरीले २/२ विकेट लिए । कप्तान पारस र सोनु देवकोटाले १/१ विकेट लिए ।
दुई टिमबीचको विजेताले फाइनलमा नेपाल पुलिस र एपीएफ क्लबबीचको विजेतासंग खेल्नेछ ।
समूह चरणमा प्रदेश ३ समूह 'ए' को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यस्तै आर्मी समूह 'बी' को उपविजेता बनेको थियो ।
प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।