काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज (बुधबार) हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा प्रदेश नम्बर ३ र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पारस खड्काको नेतृत्वमा मैदान उत्रने प्रदेश ३ र बिनोद भण्डारीको नेतृत्वमा मैदान उत्रने आर्मीको लक्ष्य जित निकाल्दै फाइनल पुग्ने रहेको छ ।
दुवै टोलीमा राष्ट्रिय टोलीका सदस्य र नाम चलेका खेलाडीहरुको बाहुल्यता रहेको छ । जसको कारण खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
दुई टिमबीचको विजेताले फाइनलमा नेपाल पुलिस र एपीएफ क्लबबीचको विजेतासंग खेल्नेछ ।
समूह चरणमा प्रदेश ३ समूह 'ए' को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यस्तै आर्मी समूह 'बी' को उपविजेता बनेको थियो ।
प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।