काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ५ ले दोस्रो जित निकालेको छ ।
सोमबार भएको खेलमा गण्डकी प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकीले दोस्रो जित निकालेको हो ।
किर्तिपुरस्थित टियु मैदानमा गण्डकीले दिएको २३५ रनको लक्ष्य प्रदेश ५ ले ४९ ओभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।
प्रदेश ५ का लागि सौरभ खनालले ९० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै प्रनित थापा मगरले ४५ रन बनाए । निश्चल चौधरीले ३३ रन जोड्दा कप्तान कृष्ण कार्की १३ रनमा आउट भए ।
गण्डकीका किशोर महतोले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४९ ओभर २ बलमा अलआउट हुँदै २३४ रन बनाएको थियो ।
गण्डकीका लागि अनिल गुरुङले शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । अनिलले १५२ बलमा ११५ रनको योगदान गरे ।
यस्तै दिपेश श्रेष्ठले २८ तथा कप्तान गोविन्द प्रधानले २६ रन बनाए । मेख बहादुर सेनले २३ र किशोर महतोले २० रन जोडे ।
प्रदेश ५ का अनिल खरेलले ५ विकेट लिए । यस्तै कृष्ण कार्की र बिक्रम कुमार भुसालले २/२ विकेट लिए ।
समूह चरणको अन्तिम खेलमा जित निकाले पनि प्रदेश ५ सेमिफाइनल पुग्न सकेन । प्रदेश ५ ले ४ खेलबाट ५ अंक जोड्यो । गण्डकीले ३ खेलमा अंक जोड्न सकेको छैन।
यस समूहबाट प्रदेश ३ र एपीएफ सेमिफाइनलमा पुग्न सफल भयो ।