काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का रहेको प्रदेश नम्बर ३ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको लिग चरणको अन्तिम खेलमा सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रदेश ३ सेमिफाइनलमा प्रवेश गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमले दिएको १५५ रनको सामान्य लक्ष्य प्रदेश ३ ले ३३ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
प्रदेश ३ का लागि इशान पाण्डेले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आदील खानले अविजित ३३ रन जोड्दा कप्तान पारस खड्काले २६ रन बनाए ।
रबिन जोशीले १३, प्रतिष जिसीले ११ तथा जितेन्द्र सिंह ठकुरीले अविजित १२ रन बनाए ।
सुदुरपश्चिमका विकास अग्री, शेर मल्ल, विनोद लामा र महेश अधिकारीले १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४५ ओभर १ बलमा अलआउट हुँदै १५४ रन बनाएको थियो ।
सुदुरपश्चिमका लागि खडक बोहराले ४० तथा रोशन अधिकारीले २७ रन जोडे । यस्तै नरेश बोहराले २६ तथा कप्तान शेर मल्लले १४ रन जोडे ।
सुदुरपश्चिमलाई सस्तैमा समेट्न प्रदेश ३ का सुर्य तामाङले ३ विकेट लिए । यस्तै प्रतिष जिसी र जितेन्द्र सिंह ठकुरीले २/२ विकेट लिए ।
जितसंगै समूह 'ए' को प्रदेश ३ ले ४ खेलबाट ६ अंक जोड्यो । र, प्रदेश ३ समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।
यस समूहबाट ६ अंक नै जोडेको एपीएफ उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।