एजेन्सी । इटालीका पुर्व कप्तान तथा गोलकिपर जियानलुइजी बुफोन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् । इटालियन सिरी ए क्लब युभेन्टसका गोलकिपर बुफोनलाई एक बर्षको लागि पीएसजीले क्लबमा भित्राएको हो ।
१७ बर्ष युभेन्टसमा बिताएपछि ४० बर्षीय बुफोनले फ्रान्सको यात्रा तय गरेको हो । पीएसजीसंग आबद्द भएपछि उनले भने, 'क्लबसंग आबद्द हुनु मेरोलागि यो निकै खुसीको कुरा हो । मेरो करियरमा पहिलो पटक मैले मेरो देश छाडेको छु । मलाई विश्वास गरेकोमा क्लब र अध्यक्षलाई धन्यवाद दिन चाहन्छु ।'
बुफोनले पीएसजीसंगको आबद्दले आफुमा नयाँ शक्ति सिर्जना भएको र जितप्रतिको आशक्तिले क्लबको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताए ।
बुफोनले इटालियन क्लबबाट १ हजार ५० खेल खेलेका छन् । जसमा ९ सिरी ए, ५ कोप्पा इटालिया र समान १ - १ पटक यूएफा कप र क्लब विश्वकप जितेका छन् ।
पर्माबाट करियर सुरु गरेका बुफोन सन् २००१ मा युभेन्टस आएका थिए । बुफोनले गत बर्ष अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए ।