काठमाडौं । युवा खेलाडी अभिषेक रिजालले नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन् ।
मलेसियाविरुद्ध अहिले जारी मैत्रीपुर्ण खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै अभिषेकले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।अभिषेक खेलको ६४ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका थिए ।
पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका अभिषेकले पहिलो सहभागितामै डेब्यु गरेका हुन् । यू-१९ टोलीका मुख्य सदस्य अभिषेक मनाङ मर्स्याङ्दीबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।
घरेलु टोलीविरुद्धको मैत्रीपुर्ण खेलमा नेपाल १-० ले पछि रहेको छ । घरेलु टोलीलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल नेपालले दोस्रो हाफमा गोल खाएको हो ।
खेलको ४९ औं मिनेटमा मलेसियाका सफावी रसीदले पेनाल्टीमा गोल गरे । अनन्त तामाङले पेनाल्टी क्षेत्रमा मलेसियाका खेलाडीलाई लडाएपछि मलेसियाले पेनाल्टी पाएको हो ।