काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ५ ले एपीएफ क्लबलाई पराजित गरेको छ । आइतबार भएको खेलमा प्रदेश ५ ले एपीएफलाई ३ विकेटले पराजित गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा एपीएफले दिएको १४२ रनको लक्ष्य प्रदेश ५ ले २९ ओभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।
वर्षाको कारण ३२ ओभरमा झारिएको खेलमा प्रदेश ५ लाई जिताउन प्रनित थापा मगरले अविजित ३० रन बनाए । यस्तै सौरभ खनालले २९ तथा सुबेन्दु पाण्डेले २० रन बनाए ।
एपीएफका लागि अमर सिंह रौटेलाले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ४ बलमा अलआउट हुँदै १८४ रन बनाएको थियो । तर, वर्षाले खेल रोकिएपछि ३२ ओभरमा खेल झारिदा प्रदेश ५ ले १४२ रनको नयाँ लक्ष्य पाएको थियो ।
एपीएफका लागि प्रदीप सिंह ऐरीले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सन्दीप जोराले २२ तथा शरद भेषवाकरले १४ रन बनाए ।
भिम सार्की १३ रनमा आउट हुँदा आसिफ शेखले ११ रन जोडे ।
प्रदेश ५ का कृष्ण कार्कीले ३ तथा सन्दीप सुनारले २ विकेट लिए ।
जितसंगै प्रदेश ५ ले अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको छ । प्रदेश ५ ले ३ खेलबाट ३ अंक जोडेको छ । अब प्रदेश ५ ले एक खेल खेल्न बाँकी रहेको छ । एपीएफ भने सेमिफाइनल पुगिसकेको छ । एपीएफले ६ अंक जोडेको छ ।