काठमाडौं । पहिलो संस्करणको उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिता जेठ अन्तिम साताबाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल समितिले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ३१ बाट सुरु भएर असार १४ गतेसम्म संचालन हुने जानकारी गराएको छ ।
शसस्त्र प्रहरी बल एपीएफको हलचोक मैदानमा हुने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्ने एन्फाका केन्द्रिय सदस्य तथा महिला समितिका संयोजक पेमा लामाले जानकारी गराईन् ।
लिग कप नकआउटको आधारमा हुने प्रतियोगितामा विभागीय टिमको सहभागिता हुने छैन । तर, विभागीय टिमका खेलाडीले भने खेल्न पाउने छन् । एक टिममा विभागका पाँच जना खेलाडीले खेल्न पाउने छन् ।
प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १०/१० हजार पाउने छन् ।
यस्तै एन्फाले सबै टोलीलाई तयारी खर्च स्वरुप ५० हजार उपलब्ध गराउने छन् ।