काठमाडौं । चौंथो संस्करणको ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा न्युरोड टिम एनआरटी र भ्याली च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटनमा एनआरटी र च्यासलबीच प्रतिस्पर्धा हुने भएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल जेठ २९ गते हुनेछ । प्रतियोगिताको पहिलो दिन १ मात्र खेल हुनेछ । दोस्रो दिनबाट हरेक दिन २ खेल हुनेछ ।
आगामी असार ३१ गतेसम्म चल्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समुहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगितामा थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, जावलाखेल युथ क्लब, संकटा क्लब, सरस्वती युथ, फ्रेन्ड्स क्लब, भ्याली च्यासल, हिमालयन शेर्पा, मछिन्द्र क्लब , ब्रिगेड ब्वाईज र न्युरोड टिम एनआरटीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।
प्रतियोगिताको सुरुको दुई संस्करण आर्मीले जितेको थियो । ब्रिगेड ब्वाईज प्रतियोगिताको साविक विजेता हो ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा संघले प्रत्येक बर्ष उमेर समुहको प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतियोगिताको लागि सबै टोलीलाई तयारी खर्च स्वरुप १ लाख २५ हजार प्रदान गरेको एन्फाका महासचिब इन्द्रमान तुलाधरले जानकारी दिए ।