एजेन्सी । विश्वकप क्रिकेटमा वेस्ट ईन्डिजले शानदार सुरुवात गरेको छ । जेसन होल्डरको टिमले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई सहजै ७ विकेटले हराउँदै विश्वकपमा शानदार 'ईन्ट्री' गर्न सफल रह्यो ।
एकदिवसीय खेलको निर्णय मात्र ३५ ओभर २ बलमा हुन पुग्यो । सुरुवाती ब्याटिङ गरेको पाकिस्तानले २१ दशमलव ४ ओभरमा १ सय ५ रनमा समेटिएको थियो ।
जवाफी ब्याटिङ्गमा उत्रिएको टिम १३ दशमलव ४ ओभरमा लक्ष्य पुरा गरेको थियो । खेलमा क्रिस गेलको ५० रन र निकोलस पुरनको ३४ रनको मदतले वेस्ट ईन्डिजले ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यस क्रममा क्रिस गेलले एक बिशेष रेकर्ड समेत कायम गरे ।
वेस्ट ईन्डिजले जितसंगै ठुला भनिएको टिमलाई बिशेष चेतावनी दिएको छ । वेस्ट ईन्डिजले ईनिङ्सको राम्रो सुरुवात गरेको थियो । गेलले ५० रन बनाउने क्रममा ३४ बलको सामना गरेका थिए ।
उनले सो क्रममा ६ चौका र ३ छक्का प्रहार गरेका थिए । पाकिस्तानविरुद्व ३ छक्का मिलाएर गेल विश्वकपमा ४० छक्का जोडेका छन् । योसंगै विश्वकपमा सबै भन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीको रेकर्ड आफ्नो नाममा गरेका छन् ।
उनले दक्षिण अफ्रीकाका एबी डिविलियर्सको ३७ छक्कालाई पछाडी छाडेका छन् ।
विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने रेडर्कमा अष्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिङ तेस्रो नम्बरमा छन् । उनले ३१ छक्का प्रहार गरेका छन् । न्युजिल्याण्डका ब्रेन्डन म्याकुलम २९ छक्का सहित चौथो स्थानमा छन् ।