काठमाडौं । विभागीय टिम एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै लगातार तीन जितसहित एपीएफले सेमिफाइनलमा स्थान बनाएको हो ।
गण्डकीले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । एपीएफको जितमा शरद भेषवाकरले सर्वाधिक ३५ रन बनाए । यस्तै प्रदिप सिंह ऐरीले ३३, आसिफ शेखले २० रनको योगदान दिए । गण्डकीका दिपेश श्रेष्ठले ३ तथा किशोर महतोले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४१ ओभर २ बलमा अलआउट हुँदै १२५ रन बनायो । गण्डकीका लागि दिपेश श्रेष्ठले सर्वाधिक २७ रन बनाए ।
यस्तै आकाश थापाले १९, बिपिन खत्रीले १७,अनिल गुरुङले ११, किशोर महताे १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
एपीएफका भुवन कार्कीले ३ विकेट हात पारे । यस्तै अमर सिंह रट्यौला, यज्ञमान कुमाल र शरद भेसवाकरले समान २/२ विकेट हात पारे ।
यो जितसंगै ३ खेलमा सतप्रतिशत जित निकाल्दै एपीएफले ६ अंक जोडेको छ र समूह 'ए' को शीर्ष स्थानमा उक्लिएको छ । एपीएफले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको हो ।
खेलिएका दुवै खेलमा हार व्यहोरेको गण्डकी तालिकाको पुछारमा रहेको छ ।