धनगढी । कैलालीको अत्तरीयामा शनिबारबाट सुरु हुने गोदावरी राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
आयोजक पिएफए अत्तरियाले शुक्रबार पत्रकार सम्मेलन गर्दै पहिलो पटक हुन लागेको प्रतियोगिताको तयारी सकिएको जनाएको छ । आगामी २८ गतेसम्म अत्तरीयामा संचालन हुने प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
वनदेवी युवा क्लवको खेल मैदान तेघरीमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पिएफए अत्तरिया र गौरीगंगा–११ स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले चार लाख तथा उप विजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने पिएफए अत्तरियाका अध्यक्ष योगेश भट्टले जानकारी गराए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार पाउने छन । उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सार्वाधीक गोलकर्ता र उदयमान खेलाडीलाई १५/१५ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई तीन हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक शिवराज भट्टराईले जानकारी दिए।
प्रतियोगितामा आयोजक पिएफए अत्तरिया, गौरीगंगा स्पोर्टस मसुरीया, नेपालगंञ्ज स्पोर्टस क्लब नेपालगंज, सुदुरपश्चिम–११ स्पोर्टस क्लब र मनकामना युवा क्लब जुगेडा, घोडाघोडी युवा क्लब सुख्खड, सुदुरपश्चिमाञ्चल फुटबल एकेडेमी पुर्नवास, वी वाईसी युवा क्लब तेघरी, माउण्ट एभरेष्ट युवा क्लब अत्तरिया, फारवेष्ट पशुपति युवा क्लब धनगढीले सहभागिता जनाउने छन् ।