काठमाडौं । गत बर्षको ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले नुवाकोट गोल्डकप खेल्ने भएको छ । एएफसी कपको समुह चरणमा प्रतिस्पर्धा गरिरहेको मनाङले मोफसलको प्रतियोगिता नुवाकोट गोल्डकपमा सहभागिता जनाउने भएको हो ।
मनाङका महासचिव अनिल गुरुङले दोस्रो रोजाईका खेलाडी समावेश गर्दै नुवाकोट गोल्डकप खेल्ने खेलपाटीलाई बताए ।
‘पहिलो रोजाईका अधिकांश खेलाडी राष्ट्रिय टिममा छन् । त्यसैले दोस्रो रोजाईका खेलाडी लिएर हामी नुवाकोट गोल्डकप खेल्ने जानेछौ ।’ उनले भने ।
एएफसी कपको आगामी खेलका लागि पर्याप्त समय रहेको उल्लेख गर्दै मनाङले मोफसलका प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
एएफसी कपको तयारीका लागि भन्दै मनाङले अघिल्लो सिजन झापा गोल्डकप लगायतका मोफसलका प्रतियोगिता अन्तिम समयमा आएर रद्व गरेको थियो ।
मनाङले एएफसी कपमा अब दुई खेल खेल्न बाँकी छ । मनाङले ढाका अवहानीसंग उसैको मैदानमा र चेन्नेईनसंग आफ्नो घरेलु मैदानमा खेल्नेछ ।
दोस्रो संस्करणको नुवाकोट गोल्डकप प्रतियोगिता जेठ २० देखि २९ गतेसम्म सञ्चालन हुदैछ ।
यस पटक प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा मनाङ सहित च्यासल, संकटा, चन्द्रागिरी टिम, आयोजक नुवकोट र चितवन ११ ले खेल्ने पक्का भईसकेको छ ।
अन्य दुई टिमको टुङ्गो लाग्न बाँकी रहेको एन्फाका केन्द्रिय सदस्य तथा प्रतियोगिता व्यवस्थापक पुर्णमान चित्रकारले बताए ।
अघिल्लो संस्करणको प्रतियोगिताको उपाधि पुलिसले जितेको थियो । उसले उपाधि भिडन्तमा थ्री स्टारलाई पराजित गरेको थियो ।